काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदा नलिई लोक सेवा आयोगका परीक्षा तयारी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिदा नलिई कार्यालयमा अनुपस्थित हुने कर्मचारीमाथि कारबाही गर्न मन्त्रालयले सूचना निकालेर आयोग, मन्त्रालय र निकायहरूलाई भनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सूचना निकालेर कार्यालयको काममा बाधा नपर्ने गरी अत्यावश्यक कामका लागि मात्रै कर्मचारीलाई बिदा दिन आग्रह गरेका छन् ।
‘विगत केही दिनदेखि लोक सेवा आयोगद्वारा सञ्चालन गरिने आन्तरिक तथा खुला परीक्षाको तयारी प्रयोजनको लागि कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित रहने भन्ने व्यापक जनगुनासो आएकोले अत्यावश्यक कामका लागि मात्रै बिदा दिने,’ कोइरालाले निकालेको सूचनामा भनिएको छ ।
यस्तै, कार्यालयमा सेवा प्रवाहलाई नियमित बनाउन पनि उनले आग्रह गरेका छन् । यसैगरी, बिदा स्वीकृत नगरी कार्यालय अनुपस्थित हुने कर्मचारीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
‘बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
अनुगमनका क्रममा अनुपस्थित हुने कर्मचारीलाई अभिलेख राखेर गयलकट्टी र तलबकट्टी गर्ने मन्त्रालयको भनाइ छ । परीक्षाका नाममा सरकारी स्रोत साधनहरू दुरूपयोग नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
‘परीक्षाका नाममा सरकारी स्रोत साधनको दोहन हुने गरेको गुनासासमेतलाई मध्यनजर गरी सरकारी स्रोतको दुरूपयोग रोक्नेतर्फ कारबाही गर्नु हुन अनुरोध छ,’ कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।




प्रतिक्रिया