सभामुख छान्न एक महिना पहिल्यै संसद् बोलाउने तयारी

सभामुख छान्न एक महिना पहिल्यै संसद् बोलाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुख छान्न संसद्को हिउँदे अधिवेशन निर्धारित समयभन्दा एक महिना पहिले नै बोलाउने गृहकार्य सुरु भएको छ । उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी ओलीलाई अघिल्लो आइतबार भेटेर निर्वाचन प्रक्रियाबारे छलफल गरेलगत्तै हिउँदे अधिवेशन छिटो बोलाउने तयारी थालिएको हो ।

उपसभामुख तुम्बाहाम्फेले प्रधानमन्त्रीसँग नियमित हिउँदे अधिवेशन वा विशेष अधिवेशन आह्वान गरेर सभामुखको निर्वाचन गर्न सकिने विकल्पका विषयमा छलफल भएको जानकारी दिइन् । ‘उहाँसँगको छलफलमा नियमित अधिवेशनबाटै चयन गर्ने हो भने पुसको सट्टा मंसिरमै अधिवेशन बोलाउने कि भन्ने कुराकानी भएको छ,’ तुम्बाहाम्फेले भनिन्, ‘तर, यस विषयमा प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय परामर्श गरेपछि अन्तिम टुंगो लाग्नेछ ।’ यसअघि हिउँदे अधिवेशन पुसको दोस्रो साताभित्र बोलाउने प्रचलन थियो ।

महराको राजीनामालगत्तै उपसभामुख तुम्बाहाम्फेले सो पद रिक्त रहेको भन्दै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेकी थिइन् । पत्राचारपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेर परामर्श गरिसकेकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि भेटेर निर्वाचन प्रक्रियाबारे परामर्श गर्ने तयारी उपसभामुख तुम्बाहाम्फेले गरेकी छिन् । संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले हिउँदे अधिवेशन प्रारम्भ नभई सभामुख चयन प्रक्रिया सुरु नहुने बताए । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।