काठमाडौं – संविधान दिवसको अवसरमा काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोह हेर्न पुगेका सर्वसाधारणलाई प्रहरीले गेट बाहिरबाटै फर्काईदिएको छ ।
मूल कार्यक्रम समारोहमा प्रवेश गर्न नपाएपछि गेट बाहिरबाटै समारोह हेरिरहेका सर्वसाधारणलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै कार्यक्रम अवलोकन गर्नबाट बञ्चित गराएको हो ।
राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको समारोह सर्वसाधारणले हेर्न नपाएका हुन् ।
टुंडिखेलभित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि नदिएपछि सरकारको यो व्यवहारले निकै दुखी बनाएको कार्यक्रम अवलोकन गर्न पुगेका सर्वसाधारणले दुखेसो पोखे ।
सरकारले सबैलाई सहभागी भएर हर्षोल्लासपूर्वक संविधान दिवस मनाउन उर्दी जारी गरेर आयोजित कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दुःखी बनाएको छ ।




प्रतिक्रिया