काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डताको विषय हुनाले राष्ट्रिय एकताको सन्देश दिनका लागि पनि पक्षमा मतदान गरिदिन आग्रह गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसका नेताहरुले पार्टीको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने आश्वासन दिएका थिए ।
‘प्रधानमन्त्रीको प्रस्तावमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकसम्म पर्खिनुस् हामीले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्नुपर्छ भन्नुभयो । हामी कांग्रेस केन्द्रीय समितिको निर्णयको पर्खाइमा छौं’, मन्त्री ज्ञवालीले भने ।
त्यस्तै जनता समाजवादी पार्टीका नेताहरुले संविधान संशोधन गरेर अपाmूहरका माग पनि पूरा गर्न आग्रह गरेका थिए । उनीहरुले यसै संविधान संशोधनबाट आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्रीले भौगोलिक अखण्डताको विषय पहिलो प्राथमिकता भएकाले अर्को बैठकमा माग सम्बोधन गर्ने बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा प्रधानमन्त्रीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष जोड दिएको जानकारी दिए ।
‘वार्ता र कूटनीति नै यस समस्याको समनधान गर्ने एक मात्र उपाय हो । संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीको विशेष अनुरोध गर्नुभएको छ’, उनले भने ।




प्रतिक्रिया