विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरूद्वारा आत्मसमीक्षा

विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरूद्वारा आत्मसमीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिको काम ठीक ढंगले भएन भन्ने आत्मासमीक्षा आफूले गरेको बताए । विगतको विधेयकमा भएको त्रुटिलाई गम्भीर पाठको रूपमा लिएर अगाडि जानुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समितिको काम ठीक ढंगले गरेनौं भन्ने आत्मासमीक्षा मैले गरेको छु । संसदमा अवसर पनि मिलेको थियो राम्रोसँग हेर्नुपर्दथ्यो । तर त्यो गरेनौं । आगामी दिनमा सबैले यसलाई गम्भीर पाठको रूपमा लिएर जानुपर्छ ।’

समितिमा विचाराधीन रहेका विधेयक तत्काल अघि बढाउन आवश्यक रहेको पनि उनले बताए । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विधेयकमा जुन त्रुटि भयो, यसमा आफू लगायत समितिका सांसदहरू उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखे । यो अनुभवले समितिको कामलाई अझ निखार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

उनले भने, ‘विधेयकमा जुन त्रुटि भयो, यसमा म लगायत यो समितिका सांसदहरू उत्तिकै जिम्मेवार हुनुपर्छ । यो अनुभवले हामीलाई र हाम्रो कामलाई अझ निखार्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

नेकपा एमालेका सांसद पदम गिरीले निश्चित समय तोकेर विधेयक अघि बढाउन सुझाए । ‘निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ । अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनु हुँदैन,’ उनले भने ।