काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धीकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग सुझाव लिने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव लिने निर्णय गरेको छ ।
प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्राचार गर्ने निर्णय समितिले गरेको छ ।
समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको समितिका संयोजक सुर्य थापाले बताए । बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको उनले बताए ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।




प्रतिक्रिया