सरकार छाड्ने वा रहिरहने विषय रणनीतिक सवाल : समाजवादी पार्टी


काठमाडौं— तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको एकता पश्चात गठन भएको समाजवादी पार्टी सरकारमा छ।

उक्त दलका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री रहेपनि संविधान संशोधनको मुद्दालाई अगाडि सारेर आन्दोलनको चेतावनी दिइरहेको छ। सोहीबीच सो दलका पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादवका बीचमा सरकार छाडेर आन्दोलनमा जाने कि सरकारमै बसिरहने भन्ने विषयमा फरक मत रहेको सार्वजनिक भइरहेको छ।

तर, उक्त दलले विज्ञप्तिमार्फत खण्डन गरेपनि सरकारमा रहने वा छाड्ने विषय राजनीतिक एवं रणनीतिक सवाल रहेको तर्क गरेको छ। पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नेतृत्वमा राजनीतिक सवाल र मुद्दाहरुमा कहीं कतै मतभेद वा कुनै किसिमको अलग–अलग धार नरहेको स्पष्ट गर्न चाहन्छौं।’

सरकारमा जाने र छाड्ने राजनीतिक दलका लागि विशुद्व राजनीतिक र रणनीतिक सवाल भएको उक्त दलको तर्क छ। यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

‘समाजवादी पार्टी, नेपाल आफ्नो राजनीतिक दृष्टीकोणका आधारमा रणनीतिक र कार्यनीतिक विषयमा स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले उठाउँदै आएको संविधान संशोधनका लागि पनि पार्टी नेतृत्व उतिकै कटिवद्व छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement