काठमाण्डु – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मानित गरिएको छ ।
पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले मंगलबार आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाइ सम्मानित गरेका छन् । कार्यक्रममा डा. कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताए ।
नेता डा. कोइरालाले २ हजार ५०० चिकित्सक विदेश पलायन भएको बताउँदै चिन्ता व्यक्त गरे । उनले दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सम्मानित पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संघीयतामा जनतालाई लाभ र उपलब्धिता दिनुपर्ने बताउँदै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, परिषद्का अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापामगर, योगेन्द्र अधिकारी र कांग्रेस नगर सभापति दीपक चापगाईंले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पुर्याएको योगदानबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया