काठमाण्डु- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले फेरि मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकप्रियताका लागि मिडियामा हौवा फिँजाउन वक्तव्यवाजी गरेको बताएका हुन् ।
त्यस्तै उनले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरे । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।
, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो?’, उनले भने । गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो?’
यता लामिछानेले आफ्नो आलोचनापछि फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् । फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा गृहमन्त्री लामिछानेले पुराना फरारहरू समातिने बताएका हुन् ।
‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’




प्रतिक्रिया