संसदमा प्रचण्डमाथि खनिए सबै प्रतिपक्षी दल, एमाले, रास्वपा र राप्रपाको एकै स्वर


काठमाण्डु- नेकपा एमालेसहित सबै प्रतिपक्षी दलले संसदमा प्रधानमन्त्री प्रचण्डको विरोध गरेका छन् ।

भारत भ्रमणअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको नागरिकता विधेयक, नेपाली भूमि साँटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीको रिहाइको विषयमा संसदमा अवरोध भएको  हाे ।

संसद अवरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्वर देखिएका छन् । सभामुख देवराज घिमिरेले संसदको कारवाही अगाडि बढाउन खोज्दै तीनै दलले अवरोध गरेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले देश हितविपरीत अभिव्यक्ति दिएकाले बाध्य भएर संसद अवरोध गरिएको बताएका छन् ।

एमालेले प्रधानमन्त्री प्रचण्डले सदनमा माफी माग्नुपर्ने माग राखेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय बनाएर संसद्मा नयाँ विधेयक दर्ता गर्नुपर्ने एमालेको माग छ । एमालेले प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद् चल्न नदिने अडान पनि लिएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा बाटो उपलब्ध गराए लिम्पियाधुरा, कालापानी र लिपुलेकको जग्गा भारतलाई दिन सकिने भन्ने अभिव्यक्ति दिएपछि संसदमा अवरोध भएको छ ।

राप्रपा दलका नेता राजेन्द्र लिङ्देनले गैरसंवैधानिक बाटोबाट नागरिकता विधेयक आएको बताए । उनले भारत भ्रमणमा जानुअघि विदेशी प्रभूलाई खुसी पार्न विधेयक प्रमाणिकरण भएकाले अवरोध गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement