प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कुन सांसदले के विषय उठाए ?

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कुन सांसदले के विषय उठाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु: प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परिरहेका लगायत समसामयिक विषय उठान भएका छन् ।

आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे। पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद एकनाथ ढकालले सडक दुर्घटना बढेको विषयमा संसद्मार्फत् सरकारको ध्यानाकर्षण गरे । सांसद ध्रुवबहादुर प्रधानले नागरिकलाई सेवा प्रवाहमा भएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन उनले माग गरेका छन् ।

सांसद अशोककुमार चौधरीले तराईका जिल्लामा वर्णशङ्कर जातको बीउका कारण मकैमा दाना नलागेको विषय उठाएका छन् । त्यस्तो बीउ बेच्ने डिलरलाई कारबाही गर्न र कृषकलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उनको माग छ । जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिए ।

सांसद डा. अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताएका छन्। न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए।

न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा. सिंहले गरे । उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताएका छन् ।