संसद बैठक बस्न ढिलाइ

संसद बैठक बस्न ढिलाइ

कार्यदल र विपक्षी दलको बैठक जारी रहेका कारण बैठक बस्न ढिलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार बिहान ११ बजेका लागि तय भएको संसद बैठक अझै सुरु भएको छैन ।

सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक जारी रहँदा प्रतिनिधिसभा बैठक बस्न ढिलाई भएको हो । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । कार्यदलमा सहमति जुटे संसद् बैठक सहज हुनेछ ।

यता कार्यदलमा सहमति नजुटे कसरी अघि बढ्ने भनेर थप रणनीति बनाउन विपक्षी दल व्यस्त छन् । सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

शुक्रबारको संसद बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संदनको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची पनि छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ । संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि समितिको कार्यादेशमा टुंगो लाग्न सकेको छैन ।