काठमाण्डु – सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याइ सदनको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास असफल भएको छ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्ष विहीन भएको हो ।
सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सह–महामन्त्री जीवन परियारले बताए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ परियारले भने।
छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति हुन नसकेको हो ।
परियाले गृहमन्त्री रवि लामिछानेको नाम नै लेखेर जाने कांग्रेसको अडान र लेख्न नहुने सत्तापक्षको अडानका कारण सहमति बन्न नसकेको जानकारी दिए ।
प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास कांग्रेसलाई दिलाएका छन् । आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।




प्रतिक्रिया