प्रतिनिधिसभामा सांसदको गुनासो- मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लाग्दा देशकै बेइज्जत भयो

प्रतिनिधिसभामा सांसदको गुनासो- मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लाग्दा देशकै बेइज्जत भयो

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिव डा. बैकुण्ठ अर्यालमाथि लाएको भ्रष्टाचार मुद्दाबारे संसद्‍मा आवाज उठेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको उच्च निकायका व्यक्ति भ्रष्टाचार मुद्दामा बदनाम भइरहेका बताउदैँ गुनासो गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले मुख्यसचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाएर बदनाम गर्न खोजिएको टिप्पणी गरे । उनले तीन दिनपछि अवकाशमा जान लागेका कर्मचारीलाई ३ दिनअगाडि मुख्यसचिवमा किन नियुक्त गरिएको थियो भन्दै प्रश्न गरे ।

सांसद यादवले भने, ‘सरकारको उच्च निकायका व्यक्ति भ्रष्टाचार मुद्दामा बदनाम भइरहेका छन्, जसले गर्दा देशकै बेइज्जत भइरहेको छ । तीन दिनपछि अवकाशमा जान लागेका कर्मचारीलाई ३ दिनअगाडि मुख्यसचिवमा किन नियुक्त गरिएको थियो ?’

त्यस्तै एमाले सांसदले ठाकुर गैरेले भ्रष्टाचारविरुद्ध अझैँ निर्मम बन्‍न सरकार र सम्बन्धित निकायको ध्यानाकार्षण गराए । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारले देशलाई नै लज्जित बनाएको बताएका हुन् । ‘भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्‍न सरकार र सम्बन्धित निकायको ध्यानाकार्षण गराउँछु । यसले हामी सबैलाई लज्जित बनाइरहेको छ,’ उनले भने ।

देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्तिमाथि नै भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले सिंगो सेवा क्षेत्र समस्याग्रस्त छ भन्ने कुरा प्रष्ट भएको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको भन्दै  मुख्यसचिव अर्यालमाथि आइतबार मुद्दा दायर गरेको थियो । निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो।