संसद अधिवेशन अन्त्य, विपक्षी दौडधुपको वियोगान्त ?

संसद अधिवेशन अन्त्य, विपक्षी दौडधुपको वियोगान्त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो आईतबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा आशावादी कुरा गरे ।

कार्यक्रममा उनले भने, ‘केपी ओली नेतृत्वको सरकार छिट्टै हट्नेछ, वैकल्पिक सरकार बन्नेछ । त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलिसकेको छ । कर्णाली प्रदेशपछि अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) मिलेर नयाँ सत्ता समीकरण बनाउने दौडधुप चलिरहेका बेला प्रचण्डले विपक्षीका लागि आशावादी अभिव्यक्ति दिएका थिए । तर प्रचण्डले व्यक्त गरेको आशा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा देखिएन ।

हिजो आईतबार देउवा निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले ओली सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने स्पष्ट पारे । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनुभएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन,’ सभापति देउवाले भने ।

सभापति देउवा मात्रै होइन, जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले समेत बहुमतको सरकार रहेका बेला नयाँ सरकार बनाउने सन्दर्भ नै नरहेको बताउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना माग पूरा गराउन वार्ता हुने गरेको र सरकार सम्बन्धी छलफल नै नभएको जसपा नेताहरू बताउँछन् । जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउने दौडधुपमा भए पनि पार्टीभित्रै अल्पमतमा छन् ।

पुरानै दौडधुप तर लगातार असफल !

प्रधानमन्त्री ओलीलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रचण्डको कोसिस नयाँ होइन, नेकपा एकीकृत हुँदै प्रचण्डले ओलीलाई अल्पमतमा पारेर आफू प्रधानमन्त्री बन्न खोजेका थिए । तर दुबै अध्यक्षले सहमतिमा निर्णय लिनुपर्ने नेकपाको विधान भएका कारण प्रचण्डको कदमले वैधता पाएन र प्रधानमन्त्री बन्ने सपना तुहियो ।

अहिले नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि नयाँ सरकार बनाउन खुबै दौडधुप भइरहेका छन् । तर जसपाभित्र एकमत नहुँदा देउवाले बहुमत पुग्ने देखेका छैनन् । विपक्षी गठबन्धनको प्रधानमन्त्रीका रूपमा हेरिएका देउवाले नै बहुमत नदेखेपछि विपक्षीको योजना कार्यान्वयनमा जान सकेको छैन ।

ओलीलाई हटाएर नयाँ सरकार बनाउनुपर्नेमा प्रचण्ड र बाबुराम भट्टराईको विशेष जोड छ । सार्वजनिक सम्बोधन र सामाजिक सञ्जालमार्फत प्रचण्ड र बाबुरामले ओलीविरुद्ध विष वमन गर्ने गरेका छन् । तर बाबुरामले आफ्नै पार्टीमा निर्णय गराउन नसक्दा विपक्षीको योजना वियोगान्तउन्मुख देखिएको छ ।

संसद अधिवेशनका ४४ दिनसम्म निरर्थक दौडधुप

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अध्यावधि निर्वाचन घोषणा गरेपछि विपक्षी दलहरू सडक संघर्षमा उत्रिए । प्रचण्डले संसद पुनःस्थापना भएको भोलिपल्टै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उद्घोष गरेका थिए । तर संसद अधिवेशन चलेको ४४ दिनसम्म विपक्षीहरू एकजुट नै हुन सकेनन् ।

सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि फागुन २३ गतेदेखि संसद अधिवेशन चलेको थियो । त्यसयता बैशाख ६ गतेसम्म आउँदा ४४ दिनको बीचमा खुबै दौडधुप भयो । तर विपक्षीको गठबन्धन बहुमत पुग्न नसक्दा प्रधानमन्त्री ओलीलाई हटाउने योजना पूरा हुन सकेन ।

गठबन्धनको बहुमत पुग्नु त कहाँ हो कहाँ ? नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन । कांग्रेस र जसपाले त्यही समर्थनलाई कारण देखाउँदै नयाँ सरकार बनाउन अग्रसरता देखाएका छैनन् । तर प्रचण्ड समर्थन फिर्ता समेत लिन सकिरहेका छैनन् ।

अन्योलग्रस्त राजनीतिबीच सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन् । अब केही दिनमै बजेट अधिवेशन आह्वान हुने र सरकारले नीति तथा कार्यक्रम र बजेट अगाडि बढाउने भएको छ । विपक्षीको गठबन्धनले नयाँ सरकार बनाउन देखेको सपना अलपत्र परेको छ ।

ओली सरकारलाई हटाउन नसकिरहेका बेला सोमबार बिहान डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘मडारिँदै गरेको भूराजनीतिक भूमरीलाई आन्तरिक राजनीति र दलीय\निजी स्वार्थमा प्रवेश गर्न नदिऊँ ! तँलाई खाने बाघले मलाई नि खान्छ भन्ने नबिर्सौं ! शक्ति केन्द्रहरूले स्थायी सत्तासँग मोलतोल निम्ति यदाकदा अग्रगामी शक्तिप्रति गोहीको आँसु झारे पनि स्थायी सत्तासँगै तिनको नाभी जोडिएको कटुसत्य नभुलौं !’