काठमाडौं – संसदीय समितिले सिंहदरबारस्थित पुरातात्त्विक नेपालकै पहिलो संसद भवन भत्काउन निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक ‘स्टेट हाउस’ बनाउन निर्देशन दिएको हो ।
भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । उक्त भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन समितिकी सभापति कल्याणी खड्काले निर्देशन दिएकी हुन् ।
शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताए । पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताए ।




प्रतिक्रिया