काठमाण्डु – सरकारले भदौ २३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले भदौ २३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादीबाट विभाजित भई नयाँ दलमा जाने जनप्रतिनिधिहरूलाई सनाखत गर्न भदौ २२ गते सम्मको समय दिएको छ ।
त्यसको भोलिपल्ट संसद अधिवेशन राख्ने सरकारले निर्णय गरेको हो । शनिबार बिहानमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सभामुख अग्नि सापकोटा सहभागी थिए ।




प्रतिक्रिया