राजीनामाबारे संसद्‍मै सत्तापक्ष–प्रतिपक्षबीच चर्काचर्की

राजीनामाबारे संसद्‍मै सत्तापक्ष–प्रतिपक्षबीच चर्काचर्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनुपर्ने र संविधानअनुरुप प्रक्रिया पुर्‍याएर दिने भन्नेबारे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदबीच जुहारी चलेको छ ।

जारी रहेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठले प्रधानमन्त्री दाहालले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका थिए । एमाले संसदीय दलको आज बिहान बसेको बैठकले पनि प्रधानमन्त्री दाहालले बहुमत गुमाएको भन्दै तत्काल राजीनामा दिनु पर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे ।

तर, प्रधानमन्त्रीको राजीनामा मागिएपछि माओवादी केन्द्रका सांसदले गभ्मीर आरोप लगाउँदै राजीनामा नदिने संवैधानिक प्रक्रिया अनुरुप अगाडि बढ्ने बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको भन्दै दाहाल संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए ।

उनले भने– ‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । यसै सन्दर्भमा संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्छ । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्दछु । अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन ।’

यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् ।