संसद विघटनविरुद्ध कांग्रेसले १६ गते देशभर विरोध प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध कांग्रेसले १६ गते देशभर विरोध प्रदर्शन गर्ने


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसका दिनमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखाउने बताए । उनले पार्टीले यो कदमलाई निरङ्कुश र असंवैधानिक भएको निष्कर्ष निकाल्दै प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

पुस ५ गते आइतबार प्रधानन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् ।