संसद्को गतिरोध : प्रधामन्त्रीसहितको बैठकले निकाल्ला निकास !

संसद्को गतिरोध : प्रधामन्त्रीसहितको बैठकले निकाल्ला निकास !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना प्रकरणका कारण संसद्मा देखिएको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा सहकारीको बचल अपचलन भएको बारे छानबिन गर्न बनाउने सहमति बनेको संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउने प्रयास हुनेछ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक, सांसद ज्ञानेन्द्रबहादुर कार्की कार्यदलका सदस्य जीवन परियार सहभागी छन्।

नेकपा (एमाले)बाट कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम् वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटेपनि कार्यादेशमा कुरा नमिल्दा २ चैतदेखिको संसद्को गतिरोध अन्त्य हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने बताइरहेको छ भने सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने भए सहकारीको रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्कका पदाधिकारीहरू लेखेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने विकल्प पनि अघि सारेको छ।