काठमाण्डु – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका एकीकृत समाजवादी पार्टीका नेताले सदनमा देखिएको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको उपाध्यक्ष हमालले जानकारी दिए ।
एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरे बमोजिम सो निर्णयको जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराइएको उपाध्यक्ष हमालले जानकारी दिए ।
अध्यक्ष नेपालले भेटमा प्रधानमन्त्री प्रचण्डलाई संसद्मा देखिएको गतिरोध समाधान गर्न सक्रिय पहल गर्न सुझाएका थिए । सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषयमा एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने नेता नेपालको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको र त्यसै अन्तर्गत बिहानमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठमै पुगेको बताएका थिए ।
‘कुराकानी भएकै छ । भर्खरै मात्रै देउवाजीसँग भेटघाट भएको छ । गतिरोध अन्त्यका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्छौं,’ प्रधानमन्त्रीले एकीकृत समाजवादी पार्टीका नेताहरूसँग भनेका थिए ।




प्रतिक्रिया