ज्यान मुद्दामा फरार सांसद खुलेआम संसदभित्र, प्रहरी भन्छः हामीले देखेनौँ

ज्यान मुद्दामा फरार सांसद खुलेआम संसदभित्र, प्रहरी भन्छः हामीले देखेनौँ


काठमाण्डु- गृहमन्त्रालयले निर्देशन दिँदासम्म नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

ज्यान मुद्दामा फरार सुचिमा रहेका कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मौखिक र लिखित रूपमा पत्राचार गरेको थियो । तर, नेपाल प्रहरीले भने गृहमन्त्रालयको निर्देशन नटेरेको भन्ने आरोप लागेको हो ।

यसैबीच प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईलेले भने फरार सुचीमा रहेका कोइरीलाई पक्राउ गर्न नेपाल प्रहरी खटिएको काठमाण्डुपाटीलाई बताए । उनले गृहमन्त्रालयको निर्देशन नेपाल प्रहरीले नटेरेको भन्ने आरोप पनि झुटो भएको दाबी गरे ।

ज्यान मुद्दामा फरार सुचिमा रहेका एमालेका सांसद कोइरीलाई गृहमन्त्रीले पक्राउ गर्न निर्देशन दिए पनि नेपाल प्रहरीले भने नटेरेको भन्ने आरोप लागेको छ । के साच्चै नेपाल प्रहरीले गृहमन्त्रीको निर्देशन नटेरेकै हो ? भन्ने प्रश्नमा प्रवक्ता राईले भने, ‘तपाईँले भन्नु भएको कुरा गलत हो । नेपालको प्रहरी जहिले पनि आफ्नो तालुक मन्त्रालय गुहमन्त्रीको आदेशलाई पूर्णरुपमा पालना गर्छ । यहाँले सुन्नुभएको हल्लामा सत्यता छैन । नेपाल प्रहरी कोइरीलाई पक्राउ गर्न लागिरहेको छ ।’

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदाँ र माघ ५ गते भएको सभामुखको निर्वाचनमा पनि फरार सुचिमा रहेका कोइरी सहभागि रहेको भन्ने खुलेको छ । खुलेआम संसदभित्र छिर्दासम्म नेपाल प्रहरीले किन पक्राउ गर्न सकेन ? भन्ने प्रश्नमा उनले संक्षिप्त रुपमा भने‘ खोइ, त्यहा खटिएको प्रहरीले नदेखेको हुनसक्छ। ’

त्यसैगरी प्रवक्ता राईले गृहमन्त्रीको ओदशलाई मान्नु नेपाल प्रहरीको धर्म कर्म भएको दावी गरेका छन् । नेकपा (एमाले) का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर-१ बाट निर्वाचित भएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदा पनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।