काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। बैठक दिउंसो १ बजे बस्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गरेपछि विश्वासको मतको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री ओलीले निती तथा कार्यक्रम पारित गरेर आजै राजीनामा दिने सम्भावना पनि छ । त्यसपछि आजै वा भोली उनको फेरी प्रधानमन्त्रीमा नियुक्त हुने तयारी छ ।
प्रतिनिधि सभामा हाल २७१ सांसद छन्। प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत भए पुग्छ। तर, उनले विश्वासको मत पाउने सम्भावना भने कम छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र उनलाई मतदान नगर्ने बताइसकेका छन् । प्रधानमन्त्रीको आफ्नै दलभित्र समेत कम्तिमा १५ जना सांसदले उनलाई मतदान नगर्ने बताइसकेका छन् । यद्यपी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरी सकेका छन् ।
जसपा नेपालले पनि तटस्थ बस्ने निर्णय गरिसकेको छ । यो अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैन । प्रधानमन्त्री ओली आफैले विश्वासको मत लिने निर्णय गरेकाले उनि वैधानिक रुपमा संसद विघठनको बाटोमा लागेका छन् ।
संसद सचिवालयले कोरोना लागेका २६ सांसदलाई समेत मतदानको व्यवस्था गरेको छ । सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन्। मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ।




प्रतिक्रिया