संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध जारी राख्ने एमालेको रणनीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध जारी राख्ने एमालेको रणनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेकालागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेकालागि आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

प्रधानमन्त्री देउवाले सत्तागठबन्धनका दलहरूलाई समेटेर गत शुक्रबार मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई समेत भाग छुट्याइएको भन्दे गठबन्धनका दलहरूनै असन्तुष्ट बनेका छन् ।

चर्को आलोचना पछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बनेका  गजेन्द्र हमालले हिजो पदबाटै राजिनामा दिएका छन् । उनी नातामा प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर राणामा जेठान पर्छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले     राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७७/०७८ , मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

आजकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन  पेश गर्नेछन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिको लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै प्रतिनिधिको सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने जनाइएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व. २०७७/७८) ” पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको सुरूवातदेखिनै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक अवराेध गरिरहेको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाएको एमालेले आफूले कारवाही गरेका माधव कुमार नेपालसहितलाई संसद्‌मा प्रवेश गर्न दिन नहुने अडान राखेको छ । संसद्‌मा देखिएको गाँठो फुकाउ यसअघि सभामुख र प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए पनि एमालेले सबै बैठक अस्वीकार गर्दै आएको छ ।