काठमाण्डु – प्रतिनिधिसभाको बैठक पुस ६ गते बस्नेगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच संसद बैठक पुस ६ गते मंगलबार दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लगायत अध्यादेश संसदमा प्रस्तुत गरेका छन् ।
एमालेले हिउँदे अधिवेशन प्रारम्भकै दिन संसद बैठक अवरोध गरेको हो । अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई जारी राखेको हो ।
अघिल्लो अधिवेशनमा पनि एमालेले अवरोध जारी राखेको थियो। भदौ २३ देखि सुरु भएको अधिवेशन कात्तिक १२ गतेसम्म चलेको थियो । अधिवेशन अवधिभर एमालेले अवरोध जारी राखेको थियो ।
मंगलबार पनि एमालेले बैठकको सुरुआतसँगै रोष्ट्रम घेराउ गरेको थियो । एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ । भदौ १ गते एमालेले कारबाहीका लागि १४ जना तत्कालीन सांसदहरुलाई कारबाही सिफारिस गरेको थियो । लामो समयसम्म सभामुखले कुनै पनि प्रक्रिया अघि नबढाइ होल्ड गरेका थिए । माधव नेपालसहितका सांसदलाई कारबाहीका लागि एमालेले सिफारिस गरेको थियो ।
निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पूरा भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुमाथि कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।




प्रतिक्रिया