केही समय जमघट, भोजभतेर र पार्टी नगरौं : सांसद सिलवाल

केही समय जमघट, भोजभतेर र पार्टी नगरौं : सांसद सिलवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड–१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उनले हरेक नेपालीलाई केही समय जमघट, भोजभतेर, पार्टीलगायत काम रोक्न पनि अनुरोध गरेका छन् ।

उनले भनेका छन्, “तपाईंहरु हरेक व्यक्तिले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावको पालना गरी मुलुकलाई कोरोनाको त्रासबाट जोगाउनुपर्ने दायित्व अब सिर्जना भएको छ । हरेक व्यक्तिले दैनिक पटकपटक साबुपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाउनुहोस् । नेपाली सभ्यातको पालना गरी कोरोनाको जोखिम रहेसम्म हात मिलाउने काम ठ्याक्कै रोक्नुहोस् ।”

मुलुकलाई यस सङ्क्रमणबाट जोगाउन सामाजिक व्यवहार र दूरीमा रहेर अघि बढ्न सिक्नुपर्ने हरेक नेपालीको कर्तव्य बनेको सांसद सिलवालको भनाइ छ ।

मुलुकका हरेक मानिसले रोगसँग लड्न सक्ने क्षमता बढाउन कागती जातका फलफूल (सिट्रस फुड) लगायत बदाम, दही आदि खानेकुरा सेवन गर्नुपर्ने सिलवालले सुझाव दिएका छन् । सङ्क्रमित देशबाट नेपाल फर्केका हरेक नेपालीलाई केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नसमेत सिलवालले अपिल गरे ।