यी हुन् हत्या, बलात्कारदेखि भ्रष्टाचारसम्मका मुद्दामा कारबाहीमा परेका ५ सांसद


काठमाण्डु – प्रतिनिधिसभाका पाँच सांसद विभिन्न आरोपमा निलम्बित भएका छन् । निर्वाचन भएको चार वर्ष पुग्दा प्रतिनिधिसभाका २७५ सदस्य मध्ये नेकपा एमालेका सांसद मोहन बानियाँसहित ५ जना सांसद निलम्बनमा परेका हुन् ।

एक शिक्षिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि एमालेका सांसद बानियाँलाई संघीय संसद सचिवालयले गत फागुन २२ गते निलम्बन गरेको सूचना जारी गरेको थियो ।

त्यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का दुई–दुई जना सांसद निलम्बित छन् । निलम्बित हुनेमा कांग्रेसका विजयकुमार गच्छादार र मोहमद अफताव आलम, जसपाका रेशम चौधरी र हरिनारायण चौधरी रहेका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्य मध्ये नेकपा माओवादी केन्द्रका ४ सांसद पदमुक्त र विभिन्न दलका ५ जना सांसद आपराधिक गतिविधिमा संलग्न भएर निलम्बित भएपछि अहिले प्रतिनिधिसभाका २६६ मात्र सांसद छन् ।

मोहन बानियाँ :

एमालेबाट निर्वाचित मुगुका समानुपातिक सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका हुन् । जुम्लाकी एक शिक्षिकालाई २५ लाख रुपैयाँ सापटी फिर्ता दिन भन्दै नेपालगञ्ज बोलाएर बलात्कार गरेको उनीविरुद्धको उजुरीमा उल्लेख छ ।
नेपालगञ्जको अप्सरा होटलमा आफूमाथि बानियाँले पटकपटक बलात्कार गरेको ४० वर्षकी ती शिक्षिकाले उल्लेख गरेकी छिन् । उनलाई कठमाण्डु आउन लागेको बेला गएको फागुन १६ गते प्रहरीले नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।
प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेको जानकारी संघीय संसदलाई गराएपछि प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले निलम्बनको सूचना सुनाएका थिए ।

मोहमद अफताब आलम :

कांग्रेस सांसद मोहमद अफताब आलम कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित खरदवामा भएको बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा रौतहटबाट निर्वाचित उनलाई जिल्ला अदालत रौतहटले थुनामा पठाएको थियो ।

पहिलो संविधानसभाको अघिल्लो दिन २०६४ चैत २७ मा आलमका काका शेख इद्रिशको घरमा विष्फोट भएको थियो । विष्फोटमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसिअख्तर मियाँलाई जिउँदै भट्टामा हालेको आरोपमा उनीमाथि मुद्दा चलेको हो ।
घटनाको करिब १२ वर्षपछि २०७६ असोज २६ मा उनी पक्राउ परेका हुन् । उनीविरुद्धको कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालत रौतहटमा विचाराधीन छ ।

रेशम चौधरी :

कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित जसपा सांसद रेशम चौधरी एक पटक पनि प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाएका छैनन् । उनी २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा भएको आठ जनाको हत्याका मुख्य अभियुक्त हुन् ।
उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।

थरुहट आन्दोलनमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको मुद्दामा उनी २०७४ फागुन १४ मा जिल्ला अदालत कैलालीमा हाजिर भएका थिए । उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ

विजयकुमार गच्छदार :

कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छादारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका हुन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएपछि संघीय संसदले गच्छदारलाई निलम्बन गरेको हो। उनी सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन ।

हरिनारायाण चौधरी :

पप्पु कन्ट्रक्सनका मालिक रहेका सांसद हरिनारायण चौधरीले कम्पनीको स्वामित्व छोराको नाममा सारे पनि भ्रष्टाचार मुद्दाबाट उम्कन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रतिनिधिसभाले उनलाई निलम्बन गरेको हो । उनी निवम्बन फुकुवाका लागि सर्वोच्च अदालतसम्म पुगे। तर, अदालतले उनको पक्षमा आदेश जारी गरेन । उनको उक्त मुद्दा अझै पनि सर्वोच्चमा विचाराधीन छ । उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

प्रतिनिधिसभा नियमावलीमा के छ ?

प्रतिनिधिसभा नियमावलीको नियम २२४ मा कुनै पनि अपराधमा पक्राउ परेका सांसद हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा निलम्बनमा पर्ने उल्लेख छ ।

फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैद सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तानी गरिरहेकोमा सो अवधिभर स्वतः निलम्बन भएको मानिने नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement