काठमाण्डु – राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव आएपनि संसद विघटन गर्न नहुने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद विडारीले प्रधानमन्त्रीले संविधानअनुसार संसद भंग गर्न नहुने बताएका हुन् ।
बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले लामो समय लगाएर देश र विदेशका विज्ञसँग समेत परामर्श गरेर प्रधानमन्त्रीले आफ्नो सनकमा संसद भंग नगरोस भनेर संविधानको धारा ७६ र १०० मा जानेसम्मको भाषा लेखेको उल्लेख गरे ।
‘संविधान बनाउँदा १५ सदस्यीय मस्यौंदा कार्यदल बनाएको थियो । त्यसमा म पनि एकजना सदस्य थिए । कृष्ण सिटौलाको संयोजकत्वको विज्ञ टिममा पनि म थिएँ । सो समितिको बैठकमा केपी ओली पनि सहभागी हुने गरेका थिए । अहिले त्यतिबेलाको टेप रेकर्डर बजाउन आग्रह गर्दछु,’ उनले भने ।
उनले बेलायतको १८औं शताब्दीको संसदको उदाहरण दिएर संसद विघटन गरेको हो भन्दै प्रश्न गरे । उनले बेलायतमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भएमा पनि संसद विघटन हुन नसक्ने बताए ।
उनले विश्वका संसदीय व्यवस्था भएका विभिन्न देशमा भएको संवैधानिक व्यवस्थाको उद्धाहरण प्रस्ताव गर्दै प्रधानमन्त्रीले आफूखुसी संसद विघटन गर्न नसक्ने बताए । संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन लाग्यो मलाई डर लाग्यो त्यसैले मैले संसद भंग गरिदिँए भन्ने प्रधानमन्त्री आफै असफल भएको उनको तर्क छ ।
‘विवाद पार्टीमा भयो भन्दैमा संसद भंग गर्ने ? व्यवस्था र जनताको विरोधमा निर्णय गर्ने ? संविधानलाई शक्तिहिन बनाउन खोज्ने ? अर्को भनेको छ ताजा जनादेश ? के भनेको यो ? ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? संविधानमा पाँच पाँच बर्षमा चुनाव गर्ने भनेको छ, त्यो पाँच वर्षलाई अढाई वर्षमा झार्ने ? त्यो हुकुमी शासन कहाँबाट प्राप्त भयो ?’, उनले प्रश्न गर्दै भने ।
उनले प्रधानमन्त्रीको संविधानको धज्जी उडाउने कामको आफू घोर विरोधी रहेको बताउँदै आगामी बैशाखमा निर्वाचन हुनै नसक्ने बताए ।




प्रतिक्रिया