संसदको गतिरोध अन्त्य गर्न देउवाको सक्रियता, एमाले भन्छ : झारा टार्ने काम भयाे

संसदको गतिरोध अन्त्य गर्न देउवाको सक्रियता, एमाले भन्छ : झारा टार्ने काम भयाे


काठमान्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफललाई प्राथमिकता दिएका हुन् ।

संसद्को ९ औँ अधिवेशनको सुरुवात देखिनै संसदमा अवरोध गरेको एमाले यो अधिवेशनमा पनि संसदमा अवरोध गर्ने रणनीतिमा छ । १० औँ अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसदहरूले नाराबाजी गरेका थिए । पार्टी विभाजन मा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले सभामुखको राजीनामा माग गर्दै आएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि सभामुखले पहल गरे पनि एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठक नै बहिस्कार गरेको थियो । प्रधानमन्त्री देउवाले यसअघि बोलाएको बैठकमा पनि एमाले सहभागी भएको थिएन आजको बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ ।

अबको निकास के ?

समस्या समाधानमा प्रधानमन्त्री सहित सत्ता गठबन्धनका नेताहरू सक्रिय भइरहँदा एमाले भने छलफलमै अनुपस्थित हुने गरेको छ । एक नेता भन्छन्, ‘समस्या आयो भने छलफल गर्ने हो । छलफलबाटै निकास निस्कन्छ तर एमालेले त बाल हठ देखायो सस्तो लोकप्रियताका लागि छलफलमा अनुपस्थित हुने हो । तर, वास्तवमा एमाले संसद विघटनको पक्षमा र आफूले गरेको विघटनको औचित्य पुष्टि गर्न अहिले अवरोध गरिरहेको छ ।’

यता एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ भने सरकारले सर्वदलीय बैठकको नाममा झारा टार्ने काम गरेको आरोप लगाएका छन् । ‘यो सर्वदलीय बैठक झारा टार्ने काम मात्र हो हामीले यसअघिका यस्ता बैठक पनि बहिस्कार गरेका थियौं । हामीले पहिलेदेखि प्रश्न गर्दै आएका छौँ । एमालेले कारबाही गरिसकेका सांसदहरूको सनाखत गरेर रातारात अध्यादेश ल्याएर एमाले विभाजन गर्न जुन भूमिका खेलियो । त्यसका केही न केही रूपमा सभामुखको समेत भूमिका छ,’ उनी भन्छन्, ‘पहिला यो विषयमा पहिला छलफल गरौँ र केही न केही निष्कर्ष निकालौँ । यो निष्कर्ष अरूसँग बसेर निस्कन्न यसका लागि सत्तापक्ष र प्रतिपक्ष मात्र बस्नुपर्छ । त्यहाँबाट निस्केको निष्कर्ष अनुसार अघि बढ्न हामी तयार छौँ । तर यहाँ त त्यसो नगरी झारा टार्ने हिसाबले अघि बढेका छन् । ’

एमालेको विभाजनको विषयमा स्पष्ट नभएसम्म वार्तामा नबस्ने उनको भनाइ छ । उनी भन्छन्, ‘सत्ता पक्ष र प्रतिपक्षको वार्ता नै बटम लाइन हो । हामी त्यसमा बस्न तयार छौँ ।’