काठमाण्डु – संसद विघटनविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुदैछ । संसद विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका हुन् ।
रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ । साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुने छ । अदालतले अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्नेबारे पनि टुङ्गो गर्न सक्नेछ । साथै अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको अर्को रिट पनि संवैधानिक इजलासमै छ । यो सहित संसद विघटनविरुद्ध संवैधानिक इजलासमा अहिले १३ रिट रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि त्यसविरुद्ध परेको १२ वटा रिटलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बुधबार संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न असहयोग भएको कारण देखाउँदै प्रतिनिधिसभा विघटन गरेका थिए । संविधानको व्यवस्थाविपरीत संसद् विघटन गरिएको भन्दै सर्वोच्चमा परेका १३ रिटमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई विपक्षी बनाइएको छ ।




प्रतिक्रिया