काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध बनाएको छ । एमालेले गत भदौ २३ गतेदेखिे निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।
बजेट पारित गर्न नदिन होस् वा अन्य महत्वपूर्ण विधेयकहरु पारित गर्नैपर्ने बाध्यतामा रहेका बेला होस् एमालेको अवरोध भने निरन्तर जारी छ । त्यसो त दुई–दुई पटक विघटन गरिसकेका ओलीले संसद रहनुको औचित्य छैन भन्ने पुष्टि गर्नलाई समेत यो शिलशिला जारी राखेको कतिपयको बुझाइ छ । तर एमाले सचेतक शान्ता चौधरी भने विगतको बिषय र अहिलेको विषय विल्कुलै फरक भएको बताउँछिन् ।
उनि भन्छिन्, ‘त्यतिबेला त्यो खालको परिस्थिती थियो एकखाले समस्या आयो । र यतिबेला संसद विघटन भयो त्यतिबेलाको कुरा अहिले आएर जोड्ने होइन। अहिलेको संसद अवरोध नेकपा एमालेको कारणले होइन नितान्त सभामुखको कारणले गर्दा भयो । त्यो बेला र अहिलेकाे अवस्था फरक छ सधै त्यो कुरा उठाएर जनतालाई भ्रमित गर्न पाइदैन । ’
एमालेबाट विभाजित बनेर माधव कुमार नेपालको नेतृत्वमा नयाँ दल गठन भइसकेको छ । अहिले एमालेले त्यही अस्त्र प्रयोग गरेर संसदलाई अवरोध गरिरहेका छन् । त्यसो त यो बिषय अदालतमा पनि बिचाराधिन छ । विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी संसदमा बहस तथा छलफल गर्न नमिल्ने संवैधानिक व्यवस्था छ तर एमालेले संसद बैठकमा लगातार १४ सांसदमाथि कारबाही गरिएको सूचना टाँसको रटान लगाइरहेको छ ।
समस्याको समाधानमा एमाले गम्भिर नबनेको सत्तापक्षको आरोप छ भने माग सम्बोधन नभएसम्म संसदको नारावाजी नरोक्ने एमालेको अडान छ । सभामुख र प्रधानमन्त्रीले पटपटक सर्वदलिय बैठक बोलाएपनि बहिस्कार गर्दै आएको छ ।
समस्याको समाधानमा तपाइहरु गम्भिर किन हुनुहुन्न ? भन्ने प्रश्नमा सचेतक चौधरी भन्छिन्, ‘तपाईहरुले के बुझ्न जरुरी छ भने त्यो बैठक गतिरोध अनत्यकालागि भन्दापनि झन समस्या निम्त्याउन बोलाईन्छ भन्ने कुरा बुझ्न जरुरी छ । हामी त्यो बैठकमा जान जरुरी नै छैन हाम्रो समस्या भनेको सरकारसंग भन्दापनि संसदसंगको समस्या हो सभामुखसंगको समस्या हो । यति गतिरोध अन्त्यकालागि बोलाएको हो भने सर्व दलिय बैठक नै आवश्यक छैन , हाम्रो अरु दलहरुसंग टसल नै छैन हाम्रो सभामुखसंगको समस्या हो । संसदको प्रतिपक्ष दलका नेतालाई भेटेर प्रमुख प्रतिपक्षी दलको नेतासंग प्रधानमन्त्री सभामुख र प्रतिपक्षी दलको नेता बसेर समाधान गर्नुपर्छ ।’




प्रतिक्रिया