काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभाको बैठकमा जवाफ दिने भएका छन् । नेकपा एमालेले अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठकमा आफूहरुले विरोध गर्ने बताएका हुन् । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन । हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’, उनले भने ।
बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्मालेमन्त्रालयमा प्रवेश गराएको आरोप छ ।
त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।




प्रतिक्रिया