समुदाय नै कोरोनाको जोखिममा

समुदाय नै कोरोनाको जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो। संयुक्त अरब इमिरेट्स (यूईए)को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो।

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ। यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन्।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले नेपालगन्जमा फैलिएको संक्रमणको अवस्था तेस्रो चरणतर्फ प्रवेश गरेको संकेत रहेको बताए। ‘धेरैको परीक्षण हुन बाँकी रहेकाले संक्रमण समुदायमा पुगेको संकेत छ’, उनले भने, ‘केही दिनमा पुष्टि त होला।’

सीमावर्ती नेपालगन्जमा सात वर्षकी बालिकादेखि ५८ वर्षसम्मका व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीमध्ये ८ पुरुष र ७ जना महिला रहेको जानकारी दिए। नेपालगन्जकै मदरसामा पढाउँदै आएका एक शिक्षकको परीक्षण गर्दा शुक्रबार पोजिटिभ देखिएको थियो। संक्रमित सबैको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण भेरी अञ्चल अस्पतालमा गरिएको थियो।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।