काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको बहस पीडितको जन्मदर्तामै अड्किएको छ ।
काठमाडौं जिल्ला अदालतले पीडित गौशाला–२६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न बिहीबार फेरि आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला–२६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको छ । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउन आदेश दिएको छ ।
यसअघि गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला–२६ की आमाको उमेर यकिन गर्ने आदेश गरेको थियो ।
त्यसपछि भदौ १० गते नै मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेशी तोकिएको थियो । पेशी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।




प्रतिक्रिया