सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित


काठमाण्डु – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।

होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो । एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो ।

होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाए । बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिए ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिए। बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आएका थिए ।

उनले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिए । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिए । सो ओभरमा उनले चार रन मात्र दिए ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिए । हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उनले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिएका थिए । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement