काठमाण्डु – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेका हुन्।
उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट र्पुयाएर थिए ।
नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए । तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाण्डु फर्किसकेका थिए । तर किशोरी बस्ने होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा र्पुयाएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा बताएकी छन्।
उक्त उजुरीपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले गत बिहीबार नै पक्राउ अनुमति दिइसकेको छ । अदालतसँग पक्राउ पूर्जी लिई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा पक्राउ आदेश पठाएको छ । सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ ।
यद्यपि सन्दीप फर्किनेबारे आफूहरुलाई केही जानकारी नभएको प्रहरीले बताएको छ । तर पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ । साथै एयरपोर्टमा निगरानि पनि राखिएको एसएसपी भरत बोहोराले जानकारी दिए ।
‘हामीलाई सन्दीप नेपाल आउनेबारे जानकारी छैन । तर, पक्राउ पूर्जी जारी भइसकेको छ । जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्छौं । एयरपोर्टमा हामीले निगरानी बढाएका छौं,’ उनले भने ।




प्रतिक्रिया