दुर्घटना रोक्न कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं : सांसद गौतम


काठमाण्डु – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको बताउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘सुकुम्बासी समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको लुछाचुँडीमा रहने, यही गति र यही मतिमा चल्ने हो भने यसले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरौं समयमै ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस भएको उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि राष्ट्रिय सरकार आवश्यक रहेको बताए । उनले भने, ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्‍याउँछ थाहा छैन ।’

राष्ट्रिय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गर्ने, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनको सवालमा सोच्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘होइन भने दुर्घटनालाई कसैले रोक्न सक्दैन, यो संकेत देखिइसक्यो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement