मैले संसारमा सबैभन्दा आदर, प्रेम, सत्कार र विश्वास गर्ने एक मात्र मान्छे मेरी आमा हुन् । आमाभन्दा ठूली, आमाभन्दा शक्तिशाली, आमाभन्दा पवित्र यो धर्तीमा केही छैन ।
आज म हुनुको कारण अर्थात् मेरो अस्तित्वको आधार नै मेरी आमा हुन्, त्यसैले आमा कहिल्यै पापिनी हुन्नन् । त्यसैले त ‘मातृदेवो भव:’ भनिन्छ । मेरो जीवित भगवान्, मेरी आमा हुन् । यस्तै मेरी आमाको भविष्य, मेरी आमाको अर्को जीवन, उनको जिउने आधार म हुँ । म नै उनी हुँ र उनी नै म हुँ । उनी रहिनन् भने पनि म रहनुपर्छ तर म नै रहिन भने उनी … !
भर्खरै जन्मेको बालकको नाम के राख्ने ? नाम जे राखे पनि हुन्छ तर त्यो बालकको कर्मले उसको वास्तविक पहिचान दिन्छ । भगवान् कृष्णको नामको शाब्दिक अर्थ कालो हो तर त्यो कालो कृष्णको कर्मले नै कृष्ण भगवान् बन्नु भयो । कृष्ण को हो आज बताउनु नै आवश्यक छैन । प्रेमको क्षेत्रमा उत्कृष्ट प्रेमी, बालबालिकाको क्षेत्रमा उत्कृष्ट बालक, संगीतको क्षेत्रमा उत्कृष्ट संगीतकार, युद्धको क्षेत्रमा उत्कृष्ट योद्धा, कूटनीतिको क्षेत्रमा उत्कृष्ट कूटनीतिज्ञ, योगको क्षेत्रमा उत्कृष्ट योगेश्वर उनै काले कृष्ण हुन् । जन्म जेलमा, हुर्काइ अर्काको घरमा, साथीभाइविहीन, प्रेममा बिछोड, युद्ध मामासँग, वंश नाश, द्वारिकाको नाश, व्याधाको हातबाट मृत्यु – सायद जीवनमा सबैभन्दा दु:ख पाएका देवता नै कृष्ण हुन् । अर्थात् जति कठिन कर्म उति नै भव्य सफलता हो ।
नेपालको २०८२ भदौ २३–२४ गतेको जेनजी आन्दोलनको नाम के हो ? के हो जेनजी ? को हो जेनजी ? साधारणतया १३ वर्षमाथिदेखि २८ वर्षमुनिका युवालाई जेनेरेसन जेड (जेनजी) भनिन्छ । नेपालको भ्रष्टाचार र कुशासनको अन्त्य गर्न नेपो बेबी अर्थात् नेताका छोराछोरीको विलासितापूर्ण जीवनप्रतिको रोष प्रकट गर्न गरिएको युवाहरूको सामान्य प्रदर्शन नै जेनजी आन्दोलन हो । नेताको दम्भ, सोसियल मिडिया प्रतिबन्ध, अकुत सम्पत्ति, नेताका छोराछोरीको मस्ती र अनियन्त्रित भ्रष्टाचार नै जेनजी आन्दोलनको जन्मको कारण हो । कसको ज्यादति नै कृष्णको जन्मको कारण हो । कृष्णको जन्म हुँदा अन्य छ (६) जना बालकको कंशले हत्या गरेको थियो । त्यो नरसंहारको बदला लिनु नै थियो । मथुरालाई मधुरा बनाउनु नै थियो । नेपालमा पनि अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्य गर्नु नै थियो । त्यसैले जेनजीको जन्म भयो ।
जन्म लिनुको उद्देश्य पनि स्पष्ट छ । तर यो बालकको जन्म मात्रै भएको छ । तर प्रशव पीडाको लेखाजोखा नै हुन सकेको छैन ।
मेरो लागि सबैभन्दा निकट जेनजी आन्दोलनमा ज्यान गुमाएका बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठ सिभिल इन्जिनीयरिङका विद्यार्थी हुन् । पढ्छु, खेल क्षेत्रबाट देशको नाम उच्च राख्छु र देशलाई सही दिशानिर्देश गर्छु भन्ने श्रेष्ठ अनाहकमा शहीद भए । नि:शब्द छु ! वीर शहीद श्रेष्ठ, कठिनभन्दा कठिन परिस्थितिसँग जुध्न सक्ने, साहसी, महान् आमा, ओशोधारा संघ नेपालकी केन्द्रीय सदस्य हामी सबैकी प्यारी माँ बिना खड्का र प्रभू बुवा नरेन्द्र श्रेष्ठका सुपुत्र हुन् । दु:खद घडीको १३औं दिनमा माताजीले भन्नुभयो, ‘नेताजी देशका लागि एउटा सन्तान जन्माउनुस्, अनि त्यो सन्तान शहीद भएको हेर्नुहोस्, बल्ल मेरो पीडा बुझ्नुहुनेछ ।’
आन्दोलनका सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पूर्ण मातापिता, जसले आफ्नो सन्तान गुमाउनुभयो, उहाँहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु । हो यो पीडा असह्य हुन्छ । कतै केहीसँग तुलना गर्न पनि सकिँदैन । यो यस्तो घाउ हो, जुन जीवनभर निको हुँदैन । आफ्ना छोराछोरी गुमेको पीडा जति पीडा संसारमा अर्को पीडा छैन । तर ‘इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते; एतद्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तद्विद:’ श्रीमद्भगवद् गीताको यो श्लोक याद गर्नुपर्छ । यो शरीर त क्षेत्र हो, यो क्षेत्रमा के छ अथवा त्यो क्षेत्रमा के थियो ? यो बुझ्नेलाई क्षेत्रज्ञ भनिन्छ । तर जस्तो घाउ लागे पनि जति दु:खे पनि सहनुको विकल्प छैन ।
हामीले बुझेका छौं, सहीदको क्षेत्र (शरीर) मा असिम देश प्रेम थियो । विधिको शासन र भ्रष्टाचार मुक्त देशको चाहना थियो । जेनजी आन्दोलनको भावना अथवा यिनै ७२ जना शहीदको सपना भनेको देशलाई सही दिशानिर्देश गर्नु हो । देश अझै भ्रष्टाचारको पीडाले आक्रान्त छ । चुनावमा टिकट नै खरीद–बिक्री हुन्छ । चुनाव जित्न मासुभात खुवाउने, नारा–जुलुस गर्ने परिपाटी अझै बाँकी छ । समानुपातिक टिके प्रणाली यथावत छ । अनलाइन भोट हाल्ने पद्धतिप्रति दलहरूले सोच्न पनि सकेका छैनन् । यस्ता विसंगतिको लिस्ट बनाइयो भने हजारौं पाना भरिनेछन् । देश रोएको छ, नेताहरू निरोले बाँसुरी बजाएझै देशका हरेक समस्यामा राजनीतिक दुन्दुभी बजाइरहेका छन् । देशको राजनीति खराब भ्रष्ट कमिसन खोरहरूको हातमा पुगेको छ । त्यसैले यी भ्रष्ट नेताहरूबाट देश सुरक्षित राख्नु छ । जेनजी आन्दोलन अथवा शहीदको सपना पूरा गर्नु छ । जेनजी कलिला युवा हुन्, यिनीहरूले पहरा जस्ता भ्रष्ट नेताविरुद्ध युद्ध गरे र जिते पनि । तर यिनीहरूमा सत्ता गुमाउनु परेकोमा ठूलो चिन्ता छ, प्रतिकारमा जे पनि गर्न सक्छन् । हामी सचेत हुनु जरुरी छ ।
आन्दोलनले खोजेको सुशासन हो तर तत्कालीन प्रधानमन्त्री, सञ्चारमन्त्री र गृहमन्त्रीको दम्भ, घमण्ड र अकर्मण्यताले सत्ता नै ढल्यो । खर्बाैंको राष्ट्रिय सम्पत्ति नाश भयो । ७२ जनाले सहादत प्राप्त गरे । यो घटना नितान्त अस्वाभाविक, योजनाविहीन दम्भ र आक्रोशको परिणाम हो । एक गिलास पानी खोजेको समुद्र नै आइपर्यो । धेरै शंकालु विज्ञहरू भन्छन्, यो विदेशी चलखेल तथा रास्वपा, राप्रपा, स्वतन्त्र बालेन र माओवादीको हात छ । ढुक्क हुनुहोस्, यहाँ कसैको पनि प्रत्यक्ष भूमिका छैन । भारत बंगलादेश, श्रीलंका, नेपालको आन्दोलन देखेर नै तर्सिएको छ । अमेरिका–ट्रम्प आफ्नै समस्यामा छन् । भएका अमेरिकी योजनाहरू सबै लगभग बन्द छन् । युरोपमा एक विचार छैन । चीनले इतिहासदेखि नै नयाँ सरकारलाई समर्थन गर्नेभन्दा अरु केही गर्दैन । अहिले पनि केही गरेको छैन । जेनजीको आन्दोलनलाई अझै सशक्त र जीवन्त राख्नुपर्ने तर नेपालमा अझै पनि शीतयुद्धकालीन राजनैतिक बुद्धिजीवी छन् । यिनले विकासमा माखो मार्नेवाला छैनन् तर राजनीति गर्न माहिर छन् । दलका झोला नै बोक्नेका लागि केही उपचार छैन । शंकाको लाभ उठाउने, झूट बोल्ने, जनतालाई दीग्भ्रमित पार्नेभन्दा यिनीहरूको नयाँ सोच नै छैन ।
यो जीवन यो शरीर रहुञ्जेल शरीर, मन, वचनले देशको माया गर्नु धर्म हो भने मृत्युपश्चात् आत्माले पनि देशकै माया गर्ने हो । त्यसैले शरीर त आउँछ जान्छ तर आत्मा अजर छ अमर छ । जेनजी शहीद भए पनि जेनजीको भावना, जेनजीको आत्मा मर्दैन । आत्मा मर्दैन भनेको मानिस मरे पनि उसले बोकेको विचार, भावना, चित्त, आत्मा मर्दैन । भ्रष्ट नेता मरे पनि, भ्रष्टको भ्रष्ट आत्मा मर्दैन, बरु भूतप्रेत हुन्छ । सत्मार्गको ज्ञान र चेतना शुद्धी नभएसम्म प्रेतलोकमा भूत, प्रेत, पिचास भएर बस्छ । तर पवित्र शुद्धआत्मा भएको शहिद आत्माले सधैं सकारात्मक शक्ति प्रवाह गरिरहेको हुन्छ ।
जेनजीको चाहना सपना नै हाम्रो सपना हो । यो देशलाई सही दिशामा डोर्याउन हामीले नै केही गर्नुपर्छ । ७२ जना शहीदका आमाहरू नै उठ्नुपर्छ । देशलाई जुरुक्क उठाउनुपर्छ । भ्रष्ट नेताहरूलाई कठघरामा उभ्याउनुपर्छ । शहीदका आमाहरूलाई रोएर पिर गरेर, शोक गरेर बस्ने छुट छैन । शोकलाई शक्तिमा बदल्नु छ, देश बनाउनु छ । शहीद सन्तानको सपना पूरा गर्नु छ । जीवित भएको भए तपाईंको सपना पूरा हुने थियो भने तपाईं जीवित हुनुहुन्छ । तपाईंको काँधमा जिम्मेवारी आएको छ । जेनजीको सपना हामी सबैले पूरा गर्नुपर्छ । वास्तवमा आमाभन्दा राम्री कोही छैन संसारमा । जेनजी शहीदहरूलाई भावपूर्ण श्रद्धासुमन !




प्रतिक्रिया