काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अस्थिर हुने हल्ला राजनीतिक रोगका कारण आएको टिप्पणी गरेका छन् ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले–कांग्रेसबीच उच्च स्तरको सहमतिमा बनेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म स्थिर रहने विश्वास व्यक्त गरे ।
‘दुई ठूला दल मिलेर सरकार बनेपछि स्थिरताको संकेत देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला फैलाइरहेका छन्,’ पोखरेलले भने ।
उनले कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै सत्ता साझेदारी खोज्ने तर एकैसाथ सरकारको विरोध गर्ने शैलीलाई अनैतिक भएको बताए।
सूचनाको हक कुण्ठित हुने आशंका निराधार भएको दाबी गर्दै पोखरेलले भने, ‘संविधानसँग बाझिने कुनै कानून संसद्ले बनाउँदैन । स्वतन्त्रताको नाममा बढ्दै गएको अराजकता नियन्त्रण गर्न खोजिएको हो, तर सूचनाको हक सीमित गरिँदैन ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे उठेका प्रश्नमा उनले भने ‘हामीले पूर्वराष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन । यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोड्न आवश्यक छैन ।’




प्रतिक्रिया