सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोका कारण ९ घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको हो ।
पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए ।
खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।
पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।
निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।




प्रतिक्रिया