काठमाण्डु- चैतको अन्तिम साता संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारले तयारी गरेको छ ।
गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन सरकारले दुई महिनापछि अन्त्य गर्न लागेको हो ।
सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम छ । सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।
अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ । त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको हो ।
सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ । सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी छ ।
सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत् कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा छन् । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ । बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि–बजेट छलफल गरिन्छ । एक अधिवेशनदेखि अर्को अधिवेशनबीच कम्तीमा १५ दिनको समय आवश्यक हुने व्यवस्था भएकाले चैत तेस्रो साता नै हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।




प्रतिक्रिया