नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुने

नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनिर्वाचित संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नयाँ संसद् निर्वाचित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।

बिहीबारको बैठकमा तीन अध्यादेश पेस हुँदैछन्। बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन्।

यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आआफ्नो मन्तव्य राख्ने कार्यसूची तय छ। सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन्।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।