काठमाण्डु – सङ्घीय संसद् सेवा दिवस आइतबार मनाईंदैछ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो ।
सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । संसदीय अभ्यासलाई थप प्रभावकारी र मर्यादित बनाउन तथा कानुन निर्माण प्रक्रियामा दिवसको महत्त्व छ ।
दिवसको अवसरमा सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन् ।
यस्तै उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत् नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिएकी छन् ।




प्रतिक्रिया