काठमाण्डु-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकलाई प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
संसदको आज बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पारित गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्दैछ ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दफावार छलफलपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन हिजोको प्रतिनिधि सभा बैठकमा पेस भइसकेको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
बहुप्रतीक्षित टीआरसी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूले आजको बैठकमा सम्बोधन गरेपछि बाँकी प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयको तयारी छ ।
यो विधेयक आजको प्रतिनिधिसभाबाट पारित भए भोलि राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित गर्ने तयारी छ ।




प्रतिक्रिया