संसद् ठप्प गर्ने विपक्षीको अडानबीच दुवै सदनको बैठक बस्दै

संसद् ठप्प गर्ने विपक्षीको अडानबीच दुवै सदनको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्को दुवै सदनको बैठक बिहीबार पनि बस्दै छ । तर बैठक बस्ने या नबस्ने टुंगो छैन ।

कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएकोले बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न पाउनेमा आशङ्का भने कायमै छ ।

विपक्षी दलहरूले संसद सुचारु गर्न तीनवटा सर्त राखेका छन् । सो सर्तबाट विपक्षीहरू पछि हटेका छैनन् । विपक्षीले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न छानबिन आयोग बनाउने विषयलाई पहिलो सर्त बनाएका छन् ।

यस्तै, भिजिट भिसा प्रकरणको छानबिन गर्न गृहमन्त्री लेखकले छानबिनको परिणाम नआएसम्म राजीनामा दिएर अनुसन्धानका लागि सहयोग गर्नुपर्ने दोस्रो सर्त छ भने भिजिट भिसा प्रकरणको जिम्मेवारी लिन र छानिबन गराउने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जनाउनुपर्नेछ ।

संसद सुचारु गराउन सत्तापक्ष र विपक्षीसँग मध्यस्थता गर्दै अग्रसरता लिइरहेका सभामुख देवराज घिमिरेको प्रयास पनि सफल हुन सकेको छैन । उनले मंगलबार र बुधबार दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।