संसद्‌को पहिलो बैठकमा कुन-कुन शीर्ष नेता बोल्नेछन् ?

संसद्‌को पहिलो बैठकमा कुन-कुन शीर्ष नेता बोल्नेछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिभसभाको पहिलो अधिवेशन बस्दैछ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ ।

अधिवेशनको सुरुमा राजनीतिक दलका नेता तथा स्वतन्त्र सांसदले दलीय आधारमा सम्बोधन गर्नेछन् ।

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ ।

संसद्को पहिलो बैठकको सञ्चालन ज्येष्ठ सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले गर्नेछन् । सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान छ । सभामुखको निर्वाचन चैत २२ गते हुनेछ ।

सचिवालयका अनुसार बैठकको सुरुमै विभिन्न दलका शीर्ष तथा संसदीय दलका नेताले सम्बोधन गर्नेछन् ।

सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट कसले सम्बोधन गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन ।

यस्तै प्रतिनिधिसभामा तेस्रो ठूलो पार्टी एमालेका तर्फबाट कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्बोधन गर्ने तयारी छ ।

श्रम संस्कृति पार्टीका तर्फ अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा यसटक एक जना मात्र स्वतन्त्र सांसद महावीर पुन छन् । उनले पनि बोल्न समय पाउनेछन् । स्वतन्त्र सांसदलाई बोल्नका निम्ति पाँच मिनेटको समय दिइएको सचिवालयले जनाएको छ ।