विश्व संस्कृत दिवस मनाइँदै

विश्व संस्कृत दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। २०७५ देखि जरो किलो प्रतिष्ठान नेपालको पहलमा सुरु भएको यो दिवस यस वर्ष आठौँ संस्करणमा पुगेको हो।

श्रावण पूर्णिमा (ऋषितर्पणी)को अवसरमा मनाइने यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिँदै छ। मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाण्डुमा आयोजना गरिएको छ।

विश्व संस्कृत दिवस कार्यपरिषद् आयोजक समितिका संयोजक प्राडा माधवप्रसाद पाण्डेयका अनुसार संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो। दिवसका सङ्कल्पकर्ता डा. निर्मलमणि अधिकारीले प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि सुरु हुने भएकाले यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको बताए।

नेपालमा यस वर्षको कार्यक्रममा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाललगायतका संस्थाले सहकार्य गरेका छन्।

अन्तर्राष्ट्रिय तहमा सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, नेपाली हिन्दु फोरम युके, सनातन धर्म अस्ट्रेलिया, विश्व भुटानी हिन्दु सङ्गठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्स लगायतका संस्थाले पनि सहकार्य गरेका छन्।