काठमाडौं– प्रहरीले सेलीब्रेटी सेफ सन्तोष साहलाई पक्राउ गरेको समाचारले बजार तातेको छ ।
उच्च सामाजिक प्रतिष्ठा भएका साह ठगी आरोपमा पक्राउ परेको समाचार धेरै मानिस लागि अनोठौ लाग्नु आश्चर्यको कुरा भएन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई शुक्रबार जनकपुर उपमहानगरपालिका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काले साहलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको जिम्मा लगाइएको बताए । खड्काका अनुसार काठमाण्डु प्रहरी परिसरले साहलाई पक्राउ गरी बुझाइदिन पत्राचार गरेको थियो ।
चितवनको भरतपुर महानगरपालिका–२५ घर भई काठमाण्डु बस्ने सकुन्तला थापाको ठगीसम्बन्धी जाहेरीले साह पक्राउ परेका हुन् ।
यसरी सुरु हुन्छ कथा
सकुन्तलाका छोरा सुदर्शन थापा स्वीट्जरल्याण्ड बस्थे । १५ वर्ष स्वीट्जरल्याण्ड बसेपछि सन्तोषमा स्वदेश फर्किएर केही गर्ने इच्छा जाग्यो ।
उनले आमा सकुन्तलालाई नेपाल आएर काठमाण्डुमा रेष्टुरेण्ट व्यवसाय गर्ने योजना सुनाए । छोराको चाहनालाई सकुन्तलाले अस्वीकार गरिनन् ।
बरु छोरा स्वदेश फर्कन चाहेकामा खुसी भइन् र आफूले सकेको सहयोग गर्ने बताइन् । परिवारको साथ पाउने भएपछि चार वर्षअघि सन्तोष स्वीटजरल्याण्डको बसाइमा बिट मारेर नेपाल आए ।
सकुन्तलाकी बहिनी हिरा भण्डारी (सानिमा) का छोरा सचिन भण्डारीसँग मिलेर काठमाण्डुको गैरीधारामा करिब ७ करोड रुपैयाँ लगानीमा भव्य रेष्टुरेण्ट खोले । तर, अनुभवको कमी र आर्थिक मन्दीका कारण सोचेजस्तो भएन । रेष्टुरेण्टबाट खर्च धान्ने कमाई भएन । घरभेटीलाई भाडा र बिजुली महसुलसमेत तिर्न सकेनन उनीहरुले । एक दिन घरेभेटीले रेष्टुरेण्टको गेटमा ताला लगाइदिए ।
त्यसपछि थापा परिवारले रेष्टुरेण्ट बेच्न ग्राहक खोज्यो । सन्तोष साहले रेण्टुरेण्ट किन्न चाहे । सात करोड लगानीको रेष्टुरेण्टको मूल्य थापा परिवारले तीन करोड राख्यो । तर, साहले साढे २ करोडभन्दा बढी दिन नसक्ने अडान राखेपछि सोही मूल्यमा किनबेचको करारनामा भयो । एक करोडभन्दा केही कम रकम दिए ।
ढेड करोडभन्दा बढी बाँकीमा रेष्टुरेण्टको किनबेच भयो । तर, साहले बाँकी रकम दिन झुलाइरहे । एकपटक २५ लाख र एकपटक साढे ९ लाखको चेक दिए । तर, चेक साटिएन । किनकी बैंक खाता रित्तो थियो । बैंकमा पैसा नभएको जानकारी दिँदा साहले उल्टै धम्की दिए । बेलाबेलामा फोन र एसएमएसमा कुरा हुँदा बाँकी पैसा दिन्छु भन्थे, तर दिँदैनथे ।
साहले व्यवहारले दिक्दार भएपछि सकुन्तलाले चेक अनादरको मुद्धा हालिन् । एक वर्षअघि जिल्ला अदालत काठमाडौंले साहलाई दोषी ठहर गरेको थियो । अदालतको आदेशमा प्रहरीले पक्राउ पुर्जी पनि जारी ग¥यो । तर, साह पक्राउ परेनन् ।
साहको सामाजिक प्रतिष्ठाका अगाडि प्रहरी हच्कियो । ‘हामीले देखेर खबर गर्दा पनि प्रहरीले धेरैपटक देखेको नदेख्यै गरेको भान भयो’, सकुन्तताले काठमाण्डुपाटीसँग भनिन्, ‘अहिले उहाँ (साह) पक्राउ पर्नुभयो रे भन्ने सुनेको छु । अब चाहिं न्याय पाइन्छ कि भन्ने आशा पलाएको छ ।’
‘विदेश बसिरहेको छोरा स्वदेश फर्किएर काम गर्छु भनेपछि हामी पनि खुसी भयौं र सम्पत्ति धितो राखेर सात कारोड लगानी जुटायौं । तर, आज यस्तो दिन आयो’, सकुन्तला भन्छिन् ।
सकुन्तलाविरुद्ध उल्टै मुद्धा ५ वटा हालेका थिए साहले
सकुन्तला बेलाबेलामा पैसा माग्न रेष्टुरेण्ट जान्थिन् । साह हुन्छ, दिन्छु भन्दै टार्थे । तर, केही समयपछि सकुन्तलालाई रेष्टुरेण्टमा प्रवेश निषेध मात्र गरेनन्, सामान चोरी गरेको आरोपमा उल्टो मुद्धा दायर गरे ।
अत्याधुनिक रेष्टुरेण्टका लागि सन्तोषले भारतबाट महँगा सामान खरिद गरेका थिए । सकुन्तलाको भनाइमा साहले सोही रेष्टुरेण्टका सामान लगेर झम्सिखेल र गौशालामा अर्को रेष्टुरेण्ट खोलेका छन् । धन्न साहले नै सामान लगेको भिडियो राखेकाले आफूले उक्त मुद्धा जितेको सकुन्तला बताउँछिन् ।
‘बाबुले रेष्टुरेण्टका लागि भारतबाट धेरै महंगा सामान ल्याएको थियो । यति सामान थियो कि, उहाँले झम्सिखेल र गौशालाको रेष्टुरेण्टमा त्यही सामान लगेर प्रयोग गर्नुभयो । उल्टै हामीलाई सामान चोरेको कसुरमा मुद्धा हाल्नुभयो । हामीले सामान सारेको भिडियो नखिचेका थियौं भने उल्टै चोर दोष लगाएर हामीलाई थुन्ने योजना रहेछ’, सकुन्तला भन्छिन् ।
चोरीका अलावा साहले सकुन्तलाविरुद्ध चेक अनादर, मानहानी र करार बमोजिमको दायित्व बहन नगरेको आरोपमा ५ फरक–फरक मुद्धा हाले । ‘सबै मुद्धा हामीले जित्यौं’, सकुन्तलाले भनिन् ।
अब के चाहन्छिन् सकुन्तला ?
प्रहरीले पक्राउ गरेपछि साहको सामाजिक प्रतिष्ठामा आँच पुगेकामा सकुन्तला दुःखी छन् । आफ्नो बाँकी रकम दिएको अवस्थामा थप मुद्धामामिला गर्ने पक्षमा नरहेको उनले बताइन् ।
‘धेरै पीडित भएर मात्र अदालती प्रक्रियामा गएकी हुँ । नेपालको रेष्टुरेण्ट व्यवसायमा सन्तोष साहको छुट्टै इज्जत थियो । हामीले विश्वास गरेको पनि त्यही नामको कारणले हो । मैले बेचेको सहित झम्सीखेल, गौशाला, जनकपुर र विराटनगरमा चलेको व्यवसाय उहाँको । मिथिला थाली भन्ने सायदै नसुन्ने कोही छैन होला’, सकुन्तलाले भनिन्, ‘सबैतिर गरेर दैनिक ५/६ लाख रुपैयाँ कमाई गर्ने मान्छेका लागि डेढ करोड रुपैयाँ केही थिएन । तर, मेरो पैसा नदिने नै इण्टेनशन देखाएपछि कानूनको ढोका ढक्ढक्याउनुबाहेक अर्को विकल्प मसँग राहेन । आज पक्राउ पर्नुभयो रे भन्दा एक मनले डुबेको धन फिर्ता हुन्छ कि भन्ने कुराले खुसी छु, अर्को मनले यत्तिको इज्जतको मान्छे आफ्नै जोहरीले पक्राउ पर्दा दुःखी पनि छु, खै के भन्ने के ।’
साहलाई थप दुःख दिने पक्षमा आफू नरहेको सकुन्तलाले स्पष्ट गरिन् । ‘मेरो पैसा फिर्ता होस्, थप केही गर्नु छैन’, उनी भन्छिन् ।




प्रतिक्रिया