काठमाण्डु – कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिशमा सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन भन्दै प्रश्न गरिन् ।
न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न आग्रह गरेकी छन्। ‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुन्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेका छैनौँ’, उनले प्रश्न गरिन् ।
आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालीक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको उनको भनाइ छ ।
उनले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट समेत मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गरिन् ।
मल्लले न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्न सक्ने स्पष्ट पारिन्। यद्यपि, त्यसका लागि न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुपर्नेमा जोड दिइन् ।
‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’
न्यायलाई प्रतिस्थापन गर्न धम्काउने र तर्साउने दुष्प्रयास भए त्यसले अनित्यता निम्त्याउने चेतावनी दिँदै उनले भनिन् ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न।’
संविधानलाई यथास्थितिमा राखेर वा विरूप पारेर गरिने काम क्रान्ति हुन नसक्ने बताउँदै उनले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित कार्यहरूले निरंकुशताको झल्को दिने उल्लेख गरिन्।




प्रतिक्रिया