काठमाण्डु – प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउँदै छन् । शपथ ग्रहण बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ ।
केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको बताए ।
उनले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।
सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ ।
साथै शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ ।
५४ जनाले मातृभाषामा शपथ लिने
नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने छन् । बुधबार साँझ ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका छन् । यो सङ्ख्या अझै बढ्न प्र्रवक्ता गिरीले बताए ।
नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।




प्रतिक्रिया